लोकतन्त्र, जनतन्त्र र गणतन्त्रमा भिन्नता


  • Frontline Nepal

रीना भट्ट

प्रायः सबैले लोकतन्त्र, जनतन्त्र र गणतन्त्र भन्ने बित्तिकै एउटै अर्थको फरक फरक शब्द भन्ने बुझेको देखिन्छ । तर, वास्तबमा यी तिनै शब्दको सिद्धान्त भने जनतासंग सम्बन्धित नै भएता पनि आधुनिक विश्व मा यी तीनै शब्दलाई फरक फरक तवरले प्रयोग र बिश्लेषण गरेको पाइन्छ।

लोकतन्त्रलाई अंगेजीमा Democracy, जनतन्त्रलाई people’s Democracy र गणतन्त्रलाई Republican Democracy भनेको छ । यसरी यि तीन वटै शब्दको प्रयोग अधिकांश मानिसले एउटै अर्थमा गरिरहेको देखिएको पनि छ। यी तीन वटै शब्दको प्रारम्भ भने युनान अर्थात् आजको Greek नगर राज्यबाट प्रारम्भ भएको हो । लोकतन्त्रलाई सर्बप्रथम अब्राहम लिंकनले परिभाषा गरे जसलाई प्रजातन्त्र भनेर नामकरण गरियो । जसको अर्थ जनताको, जनताको लागि र जनताद्वारा गरिने शासन गर्ने ब्यबस्थालाई ‘लोकतन्त्र’ भनियो । अर्थात् सरकार Of The people, By The people र For The people जहाँ हुन्छ त्यहाँ लोकतन्त्र हुन्छ भनियो । जनता भन्नाले स्त्री पुरूष, धनी गरिब, गाउँले शहरिया, पढेका नपढेका, हिन्दू मुस्लिम शिख इसाई, इत्यादि बिबिधता मिलेर बन्छ।

तसर्थ यदि शासन मा वा सरकारमा यि सबैको समान प्रतिनिधित्व हुन्छ भने त्यो नै जनता को शासन  (Of The people) हो । बयस्क नागरिकले चुनेका ब्यस्क प्रतिनिधि मार्फत शासन गर्ने पद्धति लोकतन्त्र अर्थात् (By The people) हो । यो लोकतन्त्रले जनताको लागि, जनताको हितमा काम गर्छ, जनताले चुनेका प्रतिनिधिमार्फत जनहित मा शासन हुन्छ भने त्यो नै लोकतन्त्र हो भन्दै अब्राहम लिङ्कनले भनेका छन् । तर, आधुनिक राजनीति परम्परामा यो लोकतन्त्रको परिभाषा सिर्फ सिद्धान्तमा सिमीत देखिन्छ।

अहिले यो बिषयमा शंका गर्ने ठाउँ प्रसस्त देखिएको छ तर पनि सैदान्तिक रूपमा भन्ने हो भने लोकतन्त्र लाई अब्राहम लिङ्कन को भनाइ अनुसार बिबेचना गरिन्छ। अर्थात् लोकतन्त्र भन्नासाथ यिनको सिद्धान्त लाई मानिन्छ। यसरी लोकतन्त्र अब्राहम लिङ्कन को सिद्धान्त हो।

जनतन्त्र (People’s Democracy) साम्यवादी देशले गैर साम्यवादी लोकतन्त्र भन्दा भिन्न देखाउन यो शब्दको प्रयोग गरेका छन् । बास्तबमा यसमा फरक हुनु हुदैन । तर, आफूलाई फरक देखाउन नै साम्यवादी राष्ट्रले यो शब्दको प्रयोग गरेको विश्वमा देखिएको छ । जसमा चीन, उत्तर कोरिया, कम्बोडिया, लावस र क्युवा छन् ।

‘जनतन्त्र’ मा सिर्फ एकदल साम्यवादी दल हुन्छ । अरू दल र व्यक्तिहरुलाई यो तन्त्रमा राजनीतिक गतिबीधि गर्ने अधिकार र बिकल्प हुदैन । बिचारधारा पनि सिर्फ कम्युनिष्ट विचारधारा वा एक विचारधारा मात्र हुनु पर्छ। चुनाव लड्न पनि सिर्फ कम्युनिष्ट बिचारधाराकोले पाउछ अरूले पाउदैन । र, अरू विचारधारालाई अगाडि आउन दिईन्न ।

चुनावमा प्रत्यासि पनि सिर्फ एक ब्यक्ती हुन्छ। एक पदमा कम्युनिष्ट पार्टीले पठाएको एक ब्यक्तीलाई Yes या No चुन्नुपर्ने हुन्छ । जसले Yes भन्छ ऊ त्यो देशको देशभक्त नागरिक कहलाइन्छ भने No भन्ने देशद्रोहीको सजाय भोग्न तयार हुनुपर्छ। यसरी एक प्रत्यासिलाई चुन्नुपर्ने हास्यास्पद र नाटकिय ब्यबस्था जनतन्त्रमा पाइन्छ । यहाँ मतदान पूर्ण हुन्छ भनेर बिश्वलाई देखाइन्छ । अर्थात् ९८ प्रतिशत जनताले भोट हालेर जिताउदा ती देशको सरकारले आफूलाई भारी बहुमतको शासक भनेर विश्वभर फूर्ति लगाएको पनि देखिन्छ।

तसर्थ जनतन्त्र शब्दको प्रयोग साम्यवादी राष्ट्रले गर्ने हुदा जनतन्त्र र लोकतन्त्रमा धेरै भिन्नता पाइन्छ । गणतन्त्र  Republican Democracy अठारौँ शताब्दीमा बिश्वमा आएको ब्यबस्था हो । सत्रौ शताब्दिसम्म गैर निरङ्कुश शासनलाई गणतन्त्र भनिन्थ्यो तर अठारौँ शताब्दीमा आएर फ्रान्समा राजतन्त्र बिरूद्धको क्रान्ति पश्चात राजतन्त्र फालेर स्थापना भएको जनताको शासन ब्यबस्थालाई गणतन्त्र भनियो । अर्थात बंशिय परम्पराको राजालाई हटाएर जनताद्वारा निर्बाचित राष्ट्रध्यक्ष चुन्ने ब्यबस्थालाई गणतन्त्र भनियो । जुन राज्यमा जननिर्बाचितद्वारा वा प्रत्यक्ष जनताद्वारा राज्यको प्रधान चुनिन्छ त्यसलाई नै गणतन्त्र वा गणतन्त्रात्मक ब्यबस्था भनियो । नेपाल भारत अमेरिका फ्रान्स गणतन्त्रात्मक मुलुक हुन् । यहाँ राष्ट् अध्यक्ष बंशिय शासक नभएर साधारण ब्यक्ति पनि यदि जनता ले चुन्छन् भने शासक बन्न सक्ने परम्परा स्थापित भै रहेको छ भने यो नै गणतन्त्र हो।

लोकतन्त्र राजतन्त्रात्मक मुलुकमा पनि हुन्छ जस्तो ईंग्लैण्ड, जापान, थाइल्याण्ड राजतन्त्रात्मक प्रजातान्त्रिक मुलुक भनिन्छ। चीन, उत्तर कोरिया लगायतका कम्युनिष्ट राष्ट्रहरू जनतन्त्रात्मक राज्य भनिन्छ भने नेपाल भारत फ्रान्स अमेरिका इत्यादि चै बंशिय शासकको ठाउँमा जनताले चुन्ने शासकीय स्वरूप भएको गणतन्त्र मुलुकहरू हुन् भनिन्छ । यस अर्थमा लोकतन्त्र अब्राहम लिङ्कनको परिभाषाको तन्त्र, जनतन्त्र कम्युनिष्ट राष्ट्रको तन्त्र र गणतन्त्र बंशिय शासकको ठाउँमा जनताको छोरा छोरी शासक हुने तन्त्र हो तसर्थ ती तीनै तन्त्रलाई एउटै हो भनेर परिभाषित गर्दै टिका टिप्पणी गर्नु गलत हो भन्ने लाग्छ ।

हो, आजको बिश्वमा जनता नै सर्बोपरि हो यसमा कसैको दुईमत छैन । जनताको इच्छा र आकांक्षालाई उपहास गरेर शासन गरिन्छ भने त्यो शासन क्षणिक मात्र हुन्छ भन्ने कुरा सम्पूर्ण राजनीतिकर्मी, नेता र जनता सबैले बुझ्नुपर्ने हुन्छ तसर्थ जे जस्तो भए पनि लोकतन्त्र, जनतन्त्र र गणतन्त्रमा सात्विक भिन्नता भने अवश्य पाइन्छ।

 

लेखक पाटन मल्टिपल कलेजको लेक्चरर हुनुहुन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट