सत्य निष्ठाको मूल्य मान्यतामा समाज जागरण


  • Frontline Nepal

किरण तिम्सेना

जीवन यात्रा हो । म पर्यटन क्षेत्रमा आबद्ध भएको नाताले देशको हरेक कुना-काप्चामा पर्यटकसँगै पुग्छु । धेरै किसिमका मानिसहरुसँगको जमघट हुन्छ । कोहि मित्र बन्छन् त कोहि यात्रा छउन्जेलका सहयात्री पछिल्लो वर्ष रसुवा जिल्लामा अवस्थित लाङटाङ उपत्यका भ्रमण गर्ने क्रममा क्यान्जिन गुम्बामा एक साधुसँग मेरो भेट भयो ।

हामी ८ जनाको टोली ट्रेकिङ गएका थियौं । हामी योग अभ्यास गर्न बिहानिपख गुम्बातर्फ लाग्यौं । योगाभ्यास गरिसकेपछि साथिहरु फर्किनु भयो । मलाई पछाडिबाट कसैले बोलाए जस्तो लाग्यो । म फर्किएँ पहेलो कपडा लगाएका रुद्राक्षको माला गलामा पहिरिएका, दारी कपाल पालेका खाली खुट्टामा उभिएका एक साधु रहेछ । उनीसँगको मेरो भेट अबिस्मरणिय रह्यो । उनीबाट धेरै कुराहरू सिक्ने मौका पाइयो । उनी भन्थे, – मेरो नियत स्पष्ट छ । मलाई केहि पाउने आश पनि छैन । केहि गुमाउने त्रास पनि छैन । म सकुन्जेल र आफ्नो ल्याकतले भ्याएसम्म सत्यको पक्षमा आवाज उठाइराख्छु । जहाँ बोल्दा हुन्छ, त्यहाँ बोल्छु । जहाँ कानुनले अधिकार दिन्छ त्यहाँ माग्न पुग्छु । सुधार ल्याउनै पर्छ ,समाजलाइ मर्यादित बनाउनै पर्छ । किसान र श्रमिक नै ठुला हुन् भन्ने धारणा सबैको मनमा हुनै पर्छ ।

म मेरै अधिकारको निम्ति लडिरहेको छु । उनी भन्थे, यो सरकार मतिभ्रष्ट, पाखण्डी र षड्यन्त्रकारीहरूको गिरोह हो । यिनिहरूलाई सत्ता, पद र पैसा बाहेक देश र जनताको रत्तिभर पनि माया छैन । यो विकासको बाटो हैन । यो खाल्डोमा जाक्ने धन्दा हो । यि नेता होइनन्, नेतारुपी गुन्डा हुन् । चरम लुटपाट् मच्चाउने आतंककारी हुन् । माफियाका पपेट हुन् ।

उनी भन्थे, स्थिरता र उचित विकासका लागि समर्थन गर्नुपर्छ । मुर्खता, निष्क्रियता र अहंकारको लागि होइन । उनी भन्थे, तिमिलाई के थाहा, कति च्याप्छ गरिबिले ? रुन्न भन्दा रुवाउँछ, भुल्छु भन्दा सम्झाउँछ, काटेको घाउमा नुन हालेको भन्दा बढी पीडा दिन्छ । तिमीलाई के थाहा ? कसैले पनि कमजोरमाथी कहिल्यै प्रहार गर्नुहुन्न । जुन दिन उ शक्तिसाली हुन्छ, त्यहि दिन फर्केर उसैले प्रहार गर्छ । हिंसा त भुलेर पनि कहिल्यै गर्नुहुन्न ।

हिंस्र: स्वपापेन विहिंसित: खल:
साधु: समत्वेन भयात् विमुच्यते । अर्थात्
(हिंस्रक स्वभाववाला दुष्ट र पापी आफ्नै पापले नष्ट भै समाप्त हुन्छ, अनि सज्जन चरित्रवान् पुरुष समता र ममताको स्वभावद्वारा भयदेखी विमुक्त हुन्छ ।) उनी बुद्धका कुरा गर्थे मलाइ सुनाउँथे ।

कसैले बुद्धलाई सोधे.. “विष के हो ? बुद्धले निकै सुन्दर जवाफ दिए, ‘हर त्यो चीज जुन जिन्दगीमा आवश्यकता भन्दा अधिक हुन्छ त्यो विष हो ।’ चाहे त्यो तागत होस्, धन होस्, भोक होस्, लालच होस्, अभिमान होस्, आलस्यता होस्, महत्वकांक्षा होस्, प्रेम होस्, या घृणा, आवश्यकताभन्दा अधिक त्यो ‘विष’ नै हो ।

नयाँ पुस्ता विदेशीको सिको गर्न व्यस्त छ । विदेशी भुमी, त्यो गगनचुम्बी महल, अर्धनग्न शरीर, मदिरा, ठुला–ठुला गाडी, धन दौलत आदिको सपना कल्पिदै मख्ख छ । भ्रमको जिन्दगीको कल्पनाले गर्दा उत्पत्ति र विकाससम्बन्धी यथार्थलाई नयाँ पुस्ता मिथक ठान्छ । बिस्तारै नयाँ पुस्ता बिषको पोखरीमा पौडी खेल्दै छ ।

उनी भन्थे, – ढलेको दिन त्यति बेला रमाइलो लाग्छ । जब गोधुली साँझ फर्की आउनेको पर्खाईमा हुन्छ । बिडम्बना, बिषको पोखरीमा पौडिनेहरूको आवागमनको कुनै सम्भावना हुँदैन । समाज जोगाउनु पर्छ । भत्किनबाट जोगाउनु पर्छ, टुट्नबाट जोगाउनु पर्छ, माया र मोहको बन्धनमा बाँधेर राख्नुपर्छ । रिस, राग, डाह, ईर्ष्या, लोभ नै दु:खको कारण हो ।

बुझ्ने हो भने जिन्दगी असाध्यै छोटो छ । जम्मा दुई बारको । हिजो र आज । भोलिको ठेगान छैन । छोटो जिन्दगीमा अथाह पैसा कमाउने, उधुम, उल्कै गर्ने ठूलो सपना नदेखेकै बेस । सपना देखेपछि पूरा गर्न तर्फ लाग्न पर्‍यो । देश यहि हो, समाज यहि हो । अलि पर गए बिश्व पनि उही हो । सजिलै धन दौलत कहाँ मिल्छ ? जिन्दगीको मर्म नबुझी दौडिने हो भने एक दिन सबैको बिजोग हुन सक्छ वा सो सरहको दिन आउछ । सबैलाइ सचेत बनाउनु पर्छ । सत्यको पाठ पढाउनु पर्छ ।

न्यायको पक्षमा उभिनु पर्छ । उनी आचार्य चाणक्यका वाणी सुनाउँथे..“प्राण पखेरु उडेर मात्र मानिसको मृत्यु हुँदैन, मृतक त त्यो पनि हो जसले आफ्नो राष्ट्र र धर्ममाथि आघात भएको देखेर पनि मौन बस्दछ । उनी भन्थे, यहाँ ठुला सपना देखाएर यथार्थ बङ्गयाएर युवा पुस्तालाइ भ्रमको खाडलमा जाक्नेको कार्टेलिङ छ । त्यो गिरोह हरेक क्षेत्रमा आफ्नो कब्जा जमाउन चाहन्छ ।

कब्जा जमाएर सदैव आफ्नो हुकुमत जमाउन चाहन्छ । अरु कुनै प्रतिस्पर्धी आउनै नसक्ने वातावरण तयार गर्न चाहन्छ । युवालाइ अवसर दिने कुरा त दुर, आसपास आएको पनि देख्न चाहदैन । अजम्बरी कोहि छैन । तर, अजम्बरी नै जसरी उ समाजलाई फुटाएर आफ्नो नियन्त्रणमा रहने साङ्लो मा बाँध्न चाहन्छ । र नतिजा बेरोजगारी, भोकमरी, चरम गरिबी भएर देखिन्छ ।

यसमै उसको भलाइ छ । जब बेरोजगारी, भोकमरी र चरम गरिबी सहन नसक्ने अवस्था आएपछि उसैको शरणमा जान बाध्य भईन्छ । यस्तो प्रकृतिको जालो बुन्ने माकुरो त्यही गिरोह हो । उ आफ्नो कार्यमा सदैव सफल छ । किनभने उसलाइ हाम्रो अनि हाम्रो समाजको कमजोरी राम्रोसँग थाहा छ । उ तिनै कमजोरीको फाइदा उठाउन राम्रोसँग जान्दछ । यो नै उसको कर्म हो, यहि उसको धर्म हो । हामी सचेत नहुनु, हामीले ठुला–ठुला सपना देख्नु, हामी भ्रमको खाडलतर्फ लाग्नु नै उ सफल हुनु हो ।

उनी भन्थे, ‘तिम्रो पतनको कारण तिमी स्वयं हौ । हाम्रो पतनको कारण हामी स्वयं हौं । कुनै पनि मुल्य एबं संस्कृती तबसम्म जिवित रहन्छ, जबसम्म आचरणमा रहन्छ, अनुशासनमा रहन्छ, झुट बोल्छन् तिनीहरु जो अर्को सम्प्रदायको उदयलाई आफ्नो आस्थाको पतनको कारण मान्दछन् । आस्था तिम्रो थियो, अडिग हुनुपथ्र्यो यदि तिम्रो आस्थामा सत्यताको आधार हुँदैन भने त्यसको पतन हुनैपर्छ । तिम्रो मार्ग अलग हुन सक्छ । अरुको मार्ग अलग हुन सक्छ, सत्यको मार्ग भिन्न–भिन्न हुन सक्छ, जो आफ्नो मार्गमा आफ्नैको साथ हुँदैनन् भने उसको मार्ग गलत हो भनेर सोच्नु गलत हो ।
“एकम सत विप्रा बहुधा बदन्ती” अर्थात “सत्य एक छ एउटै सत्यलाइ बिद्दानहरु अलग-अलग रुपमा व्यक्त गर्दछन् । सम्प्रदाय मार्ग हुन सक्छन्, लक्ष्य होइन । साधक र साध्यको बीच साधना हुन्छ ।

 

साधना अर्को मार्ग हो, साधना भिन्न-भिन्न हुन सक्छन् । एउटै संस्कृतीबिच पनि साधना भिन्न–भिन्न हुन सक्छन् । साधना र सम्प्रदायको भिन्नताले हाम्रो संस्कृतीमा भेद हुन सक्दैन । संस्कृती त सत्यनिस्ठ जीवनमुल्य हो । जिवनपद्द्ती हो जसको हामी अनुयायी हौ । जिवनप्रती हाम्रो आस्था छ, संस्कृती छ, अनि संस्कार जो सत्यदेखी बिमुख छ, त्यो हामीलाई स्विकार्य छैन । सत्य नै हाम्रो पद्दती हो । सत्य नै हाम्रो अनुशासन हो । सत्य नै हाम्रो संस्कृती हो । यहि संस्कृतीले हामीलाई भिन्न–भिन्न उपासनाको मार्ग दिन्छ । जबसम्म सत्य निष्ठ रहिरहन्छ तबसम्म जीवनको एक पद्द्ती र उपासनाको अर्को पद्द्तीमा कुनै संघर्ष हुँदैन ।

त्यसैले अर्काको मार्ग तिम्रोभन्दा भिन्न छ भनेर चिन्ता नगर, बिचलित नहोउ, आफ्नो आस्थालाई संगालेर राख, आफ्नो मुल्यमान्यताको जतन गरेर राख । अनि समय समयमा आफ्ंनो मुल्यमान्यताको मुल्यांकन गर, आफनो परम्पराहरुलाई सत्यको उज्यालोमा हेर अनि विश्लेषण गर । जबसम्म तिमी सत्यको रक्षा गर्छौ, संस्कृतिले तिम्रो रक्षा गर्नेछ । यो त सिधै बुझिने कुरा हो, यदि आज तिमी असुरक्षित महसुस गर्छौ भने कारण तिमीभित्रै छ “सत्यको मार्ग तिमी छोड्छौ भने चुनावको लागि कुन मार्ग शेष रहन्छ ?

“गलत मार्ग अपनाउनु नै तिम्रो पतनको कारण हो । समाजको पतनको कारण हो । चुनौती स्वीकार गर्नुको सट्टा तपाई द्वेष गर्नुहुन्छ, घृणा गर्नुहुन्छ, अरुलाइ चुनौती दिनुहुन्छ भने यो नै पतनको मार्ग हो । यदि सत्य निष्ठाको मूल्य मान्यतामा तिम्रो साँच्चिकै आस्था छ भने तिनै मुल्य मान्यतामा बाँचेर देखाउ । गरेर देखाउ, तिम्रो कृदत्त नै तिम्रो इतिहास हुन सक्छ ।

र, आफ्नो इतिहास लेख्ने अधिकार तिमीमा छ । सबैलाइ छ, सामथ्र्य छ भने सत्यको पक्षमा उठेर देखाउ, सत्यको पक्षमा उदाहरण देउ । उदाहरण बनेर देखाउ । कसले रोकेको छ ? बढ, अगाडि बढ । हिम्मत गर, सदैब सत्य र न्यायको पक्षमा आवाज बुलन्द बनाउ । जित तिम्रो हुनेछ । सत्यको हुनेछ । समाज मर्यादित बन्ने छ । समाज स्वतन्त्र हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट