बाबु, ढुकुर देखाउ त !


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज १६, २०७७

  • ऋषिका निधि भट्टराई

    अहिले टिकटकमा एउटा भिडियोले धेरै मानिसहरुलाई मनोरञ्जन प्रदान गरिरहेको छ । त्यस भिडियोमा लोग्ने मान्छे र बालक (३/५ वर्षको) बीच भएको संवादमा आधारित छ । र, त्यस संवादलाई धेरै नेपालीले उत्साहका साथ हेरेको पाईन्छ । संवाद यस्तो छ :

    लोग्ने मान्छे : ‘बाबु, ढुकुर देखाउ त’
    बालक खुशी हुँदै आफ्नो सुरुवाल खोल्न थाल्छ

    लोग्ने मान्छे : ‘यो ढुकुर हैन के, रुखमा बसेको ढुकुर’

    बालक : ‘त्यो त उडिसक्यो’ भनेर फिस्स हाँस्छ

    त्यो टिकटक भिडियो हेरिसकेपछि म झसंग भएँ । टाउको फनफनी घुम्यो । र, मलाई खपी नसक्नु रिस उठ्यो । मैले हत्त न पत्त कमेन्ट सेक्सनमा आफ्नो आँखा दौडाएँ । र, दुर्भाग्यवस कमेन्टहरु प्राय: सकारात्मक नै थिए । ‘कति रमाइलो’, ‘हा, हा, हा’ जस्ता कमेन्टहरु अग्रपंक्तिमा थिए । आफू महिला भएको हुनाले मेरो मनमा अर्को पनि उत्सुकता जाग्यो । र, यसै संवादमा बालिकाहरुको दृश्यांकन छ कि छैन भनेर मलाई बुझ्न मन लाग्यो । धुँइपताल खोजें ।

    तर, कतै पनि भेटिनँ । तसर्थ, मैले यसबाट के अनुमान लगाएँ भने हामी नेपालीहरुलाई सानो बालकद्वारा प्रदर्शन गरिने अश्लिल प्रस्तुतिहरुले निकै नै मनोरञ्जन प्रदान गर्ने रहेछ । त्यति मात्र नभएर यस्ता प्रस्तुतिहरुमा परिवारको पनि समर्थन नै हुने रहेछ ।

    ढुकुर जस्तो अस्पष्ट शब्दावली सामाजिक सञ्जालमा प्रयोग गर्नु आफैमा गलत कुरा हो । तर, त्यतिले नपुगेर साना अबोध बालकहरुलाई यस्तो जघन्य कार्यमा समावेश गर्नु द्वेषपूर्ण अपराध हो । चर्चित वैज्ञानिक सिग्मन्ड फ्रायडको सिद्धान्त अनुसार बालबालिकाहरु ३/६ वर्षको हुँदा आफ्नो यौन अंगप्रति सचेत हुन्छन् । यस समयमा बालबालिकाहरुलाई महिला र पुरुषबीचको फरक भनेको लिङ्ग र योनिको भिन्नता हो भन्ने ज्ञान हुन्छ । यहि बेला नै बालबालिकाहरु आफ्नो लिङ्ग योनिको बारेमा अन्वेषण गर्छन् । उदाहरणको लागि आफ्नो लिङ्ग र योनि चलाउने, आफ्नो लिङ्ग र योनि अभिभावकलाई देखाउने, आफ्नो लिङ्ग र योनिको विषयमा अभिभावकलाई सम्बन्धित प्रश्न सोध्ने आदि ।

    यो अवस्था बालबालिकाको मानसिक, भावनात्मक एवं यौन विकासको लागि एकदम नै महत्वपुर्ण हुन्छ र यस समयमा अभिभावकले बालबालिकालाई लिङ्ग र योनि भनेको नितान्त निजि कुरा हो । यस विषयमा कुरा गर्दा संवेदनशील हुनु पर्छ भनेर सिकाउनु अत्यन्त जरुरी हुन्छ । यदि अभिभावकलाई यस विषयमा आफ्नो बालबलिकासँग कुरा गर्न अफ्ठ्यारो लागेमा सम्बन्धित मनोविदसँग परामर्श गर्नु पर्छ । यौन उत्सुकता हुनु सामान्य कुरा हो । यसलाई शैक्षिक तरिकाले सम्बोधन गरेमा बालबालिकाहरुको भविष्य सुरक्षित हुने छ । तर, ठूलो भएपछि आफै बुझ्छ भन्ने मानसिकता राख्ने र बालबालिकाले राखेका यौन सम्बन्धि प्रश्नहरुलाई टारेमा त्यस कुराले भविष्यमा कुन रुप लिने हो भनेर अन्दाज लगाउन सकिदैन ।

    कक्षा ७ मा पढ्ने श्याम (काल्पनिक नाम) शौचालयमा पिसाब गरिरहेको बेला उसको सहपाठीहरुले उसको लिङ्ग देखेछन् । औसत लिङ्ग भन्दा धेरै नै सानो लिङ्ग रहेको भन्दै ती सहपाठीहरुले श्यामलाई जिस्काएर हैरान पारेछन् । श्यामलाई सहपाठीहरुको कुराले एकदम नै चिन्तित बनायो । श्यामले आफ्ना आभिभावकलाई यो समस्या भन्ने हिम्मत गरेनन् । न त आफ्नो शिक्षकलाई मनमा उब्जिएको दुबिधा भन्ने शाहस आयो । आफ्नो मनस्थितिको कुनै पनि समाधान नदेखे पछि सहनै नसकेर श्यामले अन्त्यमा आत्महत्या गरेछन् । तसर्थ बालबालिकाहरुको यौन जिज्ञासाहरु सम्बन्धित निकायद्वारा समयमा नै सम्बोधन भएन भने त्यसको परिणाम अकल्पनीय हुन जान्छ ।

    आफ्नै परिवारको सदस्यले आफ्नो बालकलाई ‘तिम्रो ढुकुर देखाऊ त’ भनेर सामाजिक संजालमा भिडियो राख्नु भनेको धेरै नै भयानक कार्य हो । यसो गरेर ती नै अभिभावकले पेडोफाइलहरुको (बालबालिकाप्रति यौन आकर्षण राख्ने व्यक्ति) ध्यान आकर्षण गरिरहेका हुन्छन् । अभिभावकहरुले आफ्नो बालबालिकालाई अश्लि शब्द उच्चारण गर्न लगाएर त्यहि अनुसारको अभिनय गर्न लगाउँदा ती भिडियोहरु पेडोफाइल वेबसाइट्को सामग्री बन्न पुग्छन् । तसर्थ सिधै भन्नु पर्दा अहिले अभिभावकहरुले आफ्नै बालबालिकालाई शिकारीको मुखमा हालिरहेका छन् ।

    ढुकुर देखाऊ त भन्ने संवादमा मैले बालिकाको दृश्यांकन देखिन । यो बालकहरुमा नै सिमित छ । बालकलाई अश्लिल शब्द बोल्न लगाउनु र उस्तै परे प्रदर्शन पनि गर्न लगाउनु भनेको प्रत्यक्ष रूपले पितृ सत्तालाई दिर्घकालिनता प्रदान गरेको हो । समाजमा हुने विभिन्न यौन विकृतिलाई सामान्यकरण गरेको हो । पुरुषले दबाउँछ र महिलाले सहन्छ भन्ने आशयलाई आत्मसात गरेको हो । भविष्यका बलात्कारीहरुलाई जन्म दिएको हो । अभिभावक हुने रहर धेरैमा भएता पनि अभिभावक हुनु सजिलो छैन । आफ्नो बालबालिकालाई सहि शिक्षा र आचरण दिने समय र प्रतिबद्धता नहुँदा यो कार्यबाट टाढा रहनु नै राम्रो हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार