-
साना ढकाल
रुपा २३ कटिसकेकी कामकाजे युवती हुन् । आजकल उमेरसंग-संगै उनको तनाब पनि बढ्दैछ । तनाब बढ्नुको कारण ‘लभ अफेयर्स’ वा पारिवारिक कारण होइन । कारण, भविष्यप्रतिको चिन्ता र पहिचानको खोजी हो । उनि भन्छिन्, ‘कहिलेसम्म सानो-तिनो जागिरमा अल्मलिनु रु समय बित्दैछ, अब पनि आफ्नो केहि काम राम्रो नगरे अगाडी बढ्न मुस्किल छ ।’ आफुसंगैका साथीहरु आफ्नो करिअरमा जम्न थालिसकेका तर आफ्नो कुनै बाटो नखोलिएको र धेरै पैसा आउने जागिर पनि नभएकोमा उनलाई खेद छ ।
यो अवस्था रुपाको एकल होइन । रुपा जस्तै हजारौं महिलाहरु जो पढेलेखेका छन् र केहि गर्न चाहन्छन् तिनीहरुको परिवेश हो । नेपाली समाज उन्नति र प्रगतिको बाटोतिर लम्किदै गर्दा यसको असर महिलाहरुमा पनि परेको छ । महिलाहरु सचेत, जागरुक र इलमी बन्दै गईरहेका छन् । चुलो चौको मात्र नभएर अफिस पनि सम्हाल्दै छन् । जीवनमा केहि गर्नुपर्छ भन्ने सोचको विकास महिलाहरुमा मजबुत हुँदै गएको छ । तर आशाहरु बढ्दै जादा निराशाहरु पनि जोडिदै गएका छन् । यो सबै परिवर्तनको श्रोत शिक्षालाई मान्नै पर्छ र शिक्षा संगसंगै काँधमा काँध मिलाएर हिडेको फेमिनिजमलाई पनि ।
१९१० बाट सुरु भएको ‘फेमिनीस्ट मुभमेन्ट’ ले यति बेला बिरलै देशलाई यसको प्रभावबाट बन्चित पारेको होला । यसको प्रभाव हरेक देशमा शसक्त देखिन्छ । महिला मताधिकार हकको मागबाट शुरु गरिएको फेमिनिस्ट मुभमेन्ट यो समयमा आइपुग्दा थुप्रै कुराहरु ओगट्न सफल बनेको छ । मुलधारमा महिलाको परिचय, सामान अवसर, काममा सामान ज्याला, प्रजनन् स्वास्थ्यको अधिकार जस्ता आवाज चर्को स्वरमा प्रकट भैसकेका छन् । विकासक्रम संगसंगै फेमिनिजमले संसार नै हल्लाउने गरी परिवर्तनको खुड्किलो चढेको छ जुन आवश्यक पनि छ ।
महिलाहरुलाई नगन्ने थुप्रै राष्ट्रहरुमा आज महिलाहरुले स्थान पाएका छन्, कलम देखि लिएर हवाईजहाज सम्म चलाउने महिलाहरुको उदाहरण विकसित देशमा मात्र नभई नेपाल जस्तो विकास उन्मुख देशमा पनि प्रसस्तै पाउन सकिन्छ तर देश काल र परिस्थिति बदलिरहदाँ फेमिनिजमको धारणालाई पनि संशोधन गर्नु आवश्यक देखिन्छ ।
फेमिनिजमको सकारात्मक पक्ष संगसंगै समय अनुरुप लचकता अपनाउन नसकेको कारण नकारात्मक पक्ष पनि जोडिएर आएका छन् । आज विश्वमा मानसिक स्वास्थ्य एक गम्भीर विषय बनेको छ । अझै अमेरिकाको कुरा गर्ने हो भने महिलाहरुमा डिप्रेसन पुरुषमा भन्दा दोब्बर रहेको देखिन्छ । अनुसन्धानले देखाए बमोजिम डिप्रेसनको प्रमुख कारण असन्तुष्टि मानिन्छ चाहे त्यो जुनसुकै कुरामा होस्। आज विश्वको विकास संगसंगै महिलाहरुको पनि विकास हुदै जाँदा डिप्रेसनको पनि विकास भैरहेको देखिन्छ ।
जसको कारण केहि हदसम्म फेमिनिजम पनि हो । फेमिनिजमले महिलाहरु माझ सचेतनाको नाममा प्रभुत्व जमाईरहेको छ । सबै महिलाहरुलाई आफ्नो आकारमा ढाल्ने प्रयास गर्दैछ । यो गर्नु पर्छ र त्यो गर्नुपर्छ भनेर महिलाहरुलाई पाठ पढाउदै, पितृसत्तात्मक समाजले थामेको बिडो ग्ल्यामरस नाम बनाएर फेमिनिजमले ग्रहण गरेको छ । फरक यति मात्र छ कि परापूर्वकालमा पुरुषले महिलाहरुलाई नियम कानून सिकाउथे भने अब यो जिम्मा सिदान्तको ठेली जान्ने महिलाहरुको काधमा परेको छ । फलस्वरूप दिनानुदिन नेपाली समाजका महिलाहरु फेमिनिजमको सिमित क्षेत्रमा च्यापिएर असन्तुष्टिलाई काखी च्यापेर हिड्दैछन् ।
संसारका हरेक महिलाहरुको अवस्था हुबहु पक्कै छैन । जस्तो देश उस्तै भेष भनेझैँ आफ्नो पर्यावरण अनुरुप हरेकको इच्छा चाहना र आनन्द प्राप्त गर्ने माध्यम बेग्लै छन् । अमेरिकी महिलालाई लोग्नेको लागि भोको बसेर तिजको ब्रत बस्नु वाहियात लाग्ला । तर नेपाली आमाहरुले यसलाई सौभाग्य मान्ने गर्दछन् भने दुवै महिला आफ्नो परिवेश अनुरुप सहि छन् । यसमा कुनै सिद्दान्त लगाएर कसैलाई पाठ सिकाउनु आवश्यक देखिदैन । कुनै महिलालाई राम्रो लागेको कुरा अर्को महिलालाई नराम्रो लाग्न सक्छ । र राम्रो लाग्ने महिलाले मन खोलेर राम्रो लागेको कुरा गर्न सक्नु नै फेमिनिजमको उद्देश्य हुनु पर्दछ ।
हरेक मान्छे जन्मिदै एउटा अस्तित्व बोकेर जन्मिएको हुन्छ, आफ्नो अलग पहिचान बोकेर जन्मिएको हुन्छ । जब हरेक मान्छे भिन्न हुन्छ भने एउटा भिन्न मान्छेले बनाएको एकलौटी सिद्दान्तले कसरी थुप्रै अलग व्यक्तित्वहरुलाई समेट्न सक्छ रु हरेक व्यक्ति चाहे त्यो पुरुष होस या महिला आफ्नो इच्कछा बमोजिम बाच्न पाउनु पर्दछ । एउटाको इच्छा अर्को व्यक्तिको इच्छा र धरातलसंग बेमेल हुन पनि सक्छ । एउटा व्यक्तिको भोगाई अर्को व्यक्तिको भोगाई भन्दा निकै अमिल्दो हुन सक्छ । अब पनि फेमिनिजमको नारा बोक्दै, लगाम लागेको घोडा जसरी अघि बढ्ने हो भने ठोकिएर लड्ने दिन सायदै पर छैन ।
तसर्थ फेमिनिजमको धारणा पुनरावलोकन गरी गतिशील बनाउन अत्यन्तै जरुरी छ । अबको समय फेमिनिजममा झुन्डिएर अर्को व्यक्तिसंग प्रतिस्पर्धा गरेर असन्तुष्ट बन्ने होइन कि आफ्नो आधार र इकच्छा अनुरुपको काम गर्दै ओपन माइण्डेड भएर अगाडी बढ्न जरुरी छ ।