अन्यतम् प्रतिभाको उचित कदर


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज १५, २०७७

  • हरि अधिकारी

    मेरा फेसबुक मित्रहरूलाई सम्झना हुनु पर्छ, केही दिनअघि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका प्रियपात्र युवराज खतिवडाका विषयमा यसै ठाउँमा पोष्ट गरेको सानो टिप्पणीमा मैले लेखेको थिएँ : ‘ओलीले सकेसम्म खतिवडाको राष्ट्रिय सभाको सदस्यतालाई निरन्तरता दिएर मन्त्रीको पदमा थमौती गर्नेछन् । त्यति गर्न सकेनन् भने यिनलाई अमेरिकाका लागि राजदूत बनाएर पठाउँने छन् ।’

    कहिलेकाहीँ मेरो मनमा अचानक भविष्यमा हुनसक्ने घटनाहरूको अस्पष्ट चित्र सल्बलाउँन थाल्दछ । गत वर्ष अमेरिकाका लागि नेपाली राजदूतको वाशिङ्टन डीसीस्थित निवासमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई भेट्दा त्यस्तै एउटा चित्र उभारमा आएको थियो मेरो दिमागको क्यान्भासमा । त्यतिबेला डाक्टर खतिवडासँग बिताएको दुई घण्टाको समयभरि म कुराकानी अर्थमन्त्रीसँग गरिरहेको भए पनि मनमनै भने झापाका ती लामघारेलाई अमेरिकाका लागि नेपालको भावी राजदूतको रूपमा नै हेरिरहेको थिएँ ।

    अहिले आएर ओलीले मेरो भविष्यवाणीको सत्यापन गरिदिएका छन् । म सार्‍है खुशी छु । समसामयिक नेपालको क्षितिजमा उदाएको युवराज खतिवडा नामक त्यो अन्यतम् प्रतिभालाई ओलीजीले फेरि एकपटक कदर गरी राजकीय जिम्मेवारी सुम्पेकोमा झापाली जनताको एउटा सानो समूह गद्गद् भएको छ भन्ने कुरामा विश्वास गर्नु नपर्ने कुनै कारण देखिंदैन । देशका अधिकांश मूर्ख जनता भने प्रधानमन्त्री ओलीलाई निहित स्वार्थ, संकीर्णता, अहंकार र मूर्खताको मिलिजुली अवतार जस्तो ठान्न बाध्य भएका छन् भने त्यो उनीहरूकै दुर्भाग्य हो, त्यसमा न झापाली प्रधानमन्त्री ओलीको दोष छ न त झापाका खतिवडाकै ।

    अलि टाढासम्म फ्याँक्ने बानी परेका मित्रहरूले अहिले नै डाक्टर खतिवडाको डीसीपछिको पदस्थापन कता होला भनेर जोखना हेर्न खोजेको देखियो । कतिजनाले त यी सर्वक्षेत्रशोभनीय पण्डितपुरुषलाई अमेरिकाबाट फर्केपछि श्रीपशुपतिनाथको मूलभट्ट बनाउनु उचित हुन्छ भनेर नमागेको सल्लाह पनि दिएका रहेछन् । यो भने अलि बढी नै कल्पनाशील खोकाइको कुरो भयो ।

    मलाई भने किन हो कुन्नि, डाक्टर खतिवडालाई मानपदवी दिने सन्दर्भमा केपी ओलीले गरेको यो अतिको परिणति यी दिने-लिने दुवैका हकमा सुखद रहनेछैन जस्तो लागिरहेको छ । यस सन्दर्भमा अंग्रेजहरूले भन्ने गरेको ूएनफ् इज् एनफ्ू चरितार्थ भएको छ र यसले सार्वजनिक जीवनको ढलानका बेलामा खतिवडाले गम्भीर खति बेहोर्नु पर्नेछ जस्तो देख्छु । रुग्णकाय ओलीको के भर रु उनको नेतृत्व ढल्पलाउन थालिसकेको छ, जुन दिन उनका हातबाट सत्ताको लगाम छुट्छ त्यस दिनदेखि नै खतिवडाको भाग्यको नक्षत्र पनि डुब्न थाल्नेछ ।
    यिनले राज्यबाट लिन नहुने परिमाणको मान र धन जो लिएका छन् त्यसको हिसाबकिताब त नेपाली जनताद्वारा एकदिन मागिने छ नै ।

    खतिवडाको वाशिङ्टन डीसीको पदस्थापनले यिनको अमेरिकामा हुने स्थायी बसाइ सराइको मार्ग प्रसस्त गर्‍यो भने त्यो आश्चर्यको बिषय हुने छैन । हुन त भविष्यको कुरा कसले पो जानेको हुन्छ र मैले यकीन गरेर भन्न सक्नु ? !

    प्रतिक्रिया
    सम्बन्धित समाचार